हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो

बाग्लुङ | असोज २९, २०८०

हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो

गलकोट:    बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।


गत वर्ष बनाइएको चर्खे पिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भन्नुभयो, “दश वर्ष अघि मालिकाको पञ्चासेमा चर्खे पिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खे पिङ हाल्न थालिएको हो ।”


न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उहाँका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० रुपियाँ हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपियाँमै तयार गर्न सकिने उहाँको भनाइ छ । 


यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दसैँ तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसैँ र तिहारमा हालिएको चर्खे पिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । 

 

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्त्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो) को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसैँ सुरु हुनु महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खे पिङ लोप हुन थालेको हो । 

 

झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । 


“कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खे पिङ देख्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तहले चर्खे पिङ संरक्षण नगरे भविष्यमा देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरू जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । 


चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खे पिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ । 


युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्